मानिसहरूलाई आफूभित्र रहेका मानसिक र शारीरिक क्षमताको पूर्ण प्रयोग तथा उपयोग गरेर जीवनमा कसरी नसोचेको अभूतपूर्व सफलता हासिल गर्ने भन्ने सिकाउने पुस्तक ‘असीमित शक्ति’ विश्वप्रसिद्ध मोटिभेसनल वक्ता तथा लेखक एन्थोनी रोबिन्स (टोनी रोबिन्स) द्वारा लिखित एक अत्यन्त लोकप्रिय आत्मसुधार पुस्तक हो। यो पुस्तक मुख्य रूपमा न्युरो–लिङ्ग्विस्टिक प्रोग्रामिङ (NLP) को सिद्धान्तमा आधारित छ।
कुनै पनि क्षेत्रमा सफल र निरन्तर प्रभावकारी रूपमा कार्य गरिरहेका व्यक्तिहरूको सोच्ने तरिका, आनीबानी तथा कार्यशैलीलाई नजिकबाट बुझेर त्यसको हुबहु अनुकरण गरेमा जो कोहीले पनि त्यस्तै किसिमको सफलता हासिल गर्न सक्छ। त्यस्तै, हामीभित्रका भावना, विचार तथा मानसिक अवस्थाले हाम्रो कार्यक्षमता निर्धारण गर्छन्। हाम्रो शारीरिक हाउभाउ, चालढाल, रहनसहन तथा आन्तरिक संवाद अर्थात् आत्मसंवादमा परिवर्तन ल्याएर सकारात्मक शक्ति र ऊर्जा प्राप्त गर्न सकिन्छ।
तुरुन्तै सकारात्मक शक्ति र ऊर्जा प्राप्त गर्न सकिन्छ। हामीभित्र रहेका विश्वासहरूले नै हाम्रा काम तथा प्रगतिका सीमाहरू तय गर्छन्। हाम्रो प्रगति र कार्यलक्ष्यलाई सीमित पार्ने नकारात्मक विचार तथा भावनालाई हटाएर सकारात्मक र शक्तिशाली विश्वास तथा आत्मज्ञान निर्माण गर्नुपर्छ।आफूमा भएको आत्मज्ञानका माध्यमबाट आफूसँग गरिने आन्तरिक कुराकानी तथा अरूसँग गरिने सञ्चारको स्तर नै हाम्रो सफलताको साँचो हो। यसले सम्बन्धहरूलाई बलियो बनाउन पनि मद्दत गर्छ।हजुरहरूले जीवनमा के प्राप्त गर्न चाहनुहुन्छ भन्ने कुराको स्पष्ट ढाँचा वा खाका हुनुपर्छ। आफूले प्राप्त गर्न चाहेको लक्ष्य हासिल गर्न निरन्तर ठोस कदम चाल्नुपर्छ।‘असीमित शक्ति’ पुस्तकमा लेखकले पहिलो परिच्छेदमा ‘मानवीय उत्कृष्टताको अनुसरण’ अन्तर्गत १० अध्याय, दोस्रो परिच्छेदमा ‘सफलताको निर्विकल्प सूत्रहरू’ अन्तर्गत सम्बन्धित अध्यायहरू र तेस्रो परिच्छेदमा अन्य महत्त्वपूर्ण विषयहरू समेटी पुस्तकलाई जम्मा २१ अध्यायमा विभाजन गरेर विवेचना गरेका छन्।
यी विषयहरूबारे पूर्ण जानकारी प्राप्त गर्न हजुरले ‘असीमित शक्ति’ पुस्तकलाई पूर्ण रूपमा अध्ययन गर्नुपर्ने हुन्छ।