रोबर्ट कियोसाकी र शेरोन लेक्टरद्वारा लिखित विश्वप्रसिद्ध पुस्तक ‘धनी बुबा, गरिब बुबा’ व्यक्तिगत वित्तीय व्यवस्थापन सम्बन्धी एक लोकप्रिय पुस्तक हो। यस पुस्तकमार्फत लेखकहरूले मानिसलाई पैसा कमाउने, कमाएको पैसालाई उचित रूपमा व्यवस्थापन गर्ने, सही ठाउँमा लगानी गर्ने र आर्थिक स्वतन्त्रता हासिल गर्ने सरल तथा व्यावहारिक तरिका सिकाएका छन्।यस पुस्तकमा लेखक रोबर्ट कियोसाकीले आफ्ना दुई जना बुबालाई मुख्य पात्रका रूपमा प्रस्तुत गर्दै एक धनी बुबाको सोच र दृष्टिकोणलाई अर्का गरिब बुबाको सोच तथा दृष्टिकोणसँग तुलना गरेका छन्। यसरी दुई फरक आर्थिक सोच र जीवनदृष्टिको तुलना गर्दै लेखकले पैसा, सम्पत्ति, लगानी र आर्थिक स्वतन्त्रतासम्बन्धी महत्वपूर्ण तथा अमूल्य पाठहरू पाठकलाई सिकाएका छन्।:यस पुस्तकमा कियोसाकीले आफ्ना जन्मदाता बुबालाई, जो उच्च शिक्षित तथा विद्वान हुनुहुन्थ्यो र सरकारी उच्च तहमा रहेर काम गर्नुहुन्थ्यो, ‘गरिब बुबा’को पात्रका रूपमा प्रस्तुत गरेका छन्। उहाँको आम्दानी राम्रो भए पनि जीवनमा बारम्बार आर्थिक समस्याहरू आइरहन्थे। उहाँको सोच थियो—धेरै पढ, राम्रो जागिर खाऊ, जागिरबाट सुरक्षित रूपमा पैसा कमाऊ र त्यसैबाट आफ्नो जीवनयापन गर।अर्कोतिर, रोबर्टका साथी माइकलका बुबा त्यति धेरै औपचारिक शिक्षा हासिल गरेका व्यक्ति हुनुहुन्नथ्यो। तर आफ्नै व्यवसाय र लगानीका माध्यमबाट उहाँले आफूलाई सहरकै धनी व्यक्तिहरूमध्ये एकका रूपमा स्थापित गर्नुभएको थियो। उहाँको सोच थियो—जीवनमा केवल जागिरका लागि मात्र काम गर्नु हुँदैन; त्यसको सट्टा आफ्नै व्यवसाय गर्नुपर्छ। कमाएको आम्दानीलाई मात्र जम्मा गरेर राख्नुको सट्टा त्यसलाई लगानी गरेर पैसालाई आफ्ना लागि काम गर्न लगाउनुपर्छ।पुस्तकमा कियोसाकीले भनेका छन्—गरिब र मध्यमवर्गीय मानिसहरू पैसाका लागि दिनरात मेहनत गर्छन्, जागिर खान्छन् र आफ्नो अमूल्य समय तथा श्रम खर्च गर्छन्। तर धनी मानिसहरू आफ्नो पैसा वा आम्दानीलाई आफ्नो लागि काममा लगाउँछन्। उनीहरू पैसा बचत गरेर मात्र राख्दैनन्, त्यसलाई विभिन्न क्षेत्रमा लगानी गरेर थप पैसा कमाउने प्रयास गर्छन्।गरिब र मध्यमवर्गीय मानिसहरू पैसाका लागि काम गर्छन् भने धनी मानिसहरू सम्पत्ति बढाउनका लागि काम गर्छन् र लगानीलाई आफ्नो आर्थिक विकासको माध्यम बनाउँछन्।कियोसाकीका अनुसार, जुन कुराले तपाईंको खल्तीमा पैसा ल्याउँछ, त्यो सम्पत्ति हो भने जुन कुराले तपाईंको खल्तीबाट पैसा निकाल्छ, त्यो दायित्व हो। सरल सत्य के हो भने, धनी बन्नका लागि तपाईंले आफ्नो सम्पत्ति बढाउँदै जानुपर्छ र दायित्व घटाउँदै लैजानुपर्छ।मुख्य कुरा के हो भने, जुनसुकै विद्यालय, कलेज वा विश्वविद्यालयमा हामीलाई कसरी डिग्री लिने र जागिर खाने भन्ने कुरा सिकाइन्छ। तर पैसा कसरी व्यवस्थापन गर्ने भन्ने आवश्यक वित्तीय ज्ञान भने पर्याप्त रूपमा दिइँदैन।धनी बन्नका लागि लगानी, बजार र आर्थिक प्रणालीका बारेमा ज्ञान हुनु आवश्यक हुन्छ। यसैलाई वित्तीय शिक्षा भनिन्छ।जागिर खाने वा जागिरमै रमाउने मानिसहरू एक किसिमको ‘मुसाको दौड’मा फसिरहेका हुन्छन्। उनीहरू जागिर खान्छन्, अलिअलि पैसा कमाउँछन्, महिनाभर खर्च गर्छन्, ऋण तिर्छन् र फेरि अर्को महिना त्यही प्रक्रिया दोहोर्याइरहन्छन्। यही निरन्तर दोहोरिइरहने चक्र नै ‘मुसाको दौड’ हो।जीवनमा यस चक्रबाट उम्कनका लागि तपाईंले निष्क्रिय आम्दानीका स्रोतहरू बुझ्नुका साथै त्यस्ता स्रोतहरू निर्माण गर्न पनि सिक्नुपर्छ।यो पुस्तकले वित्तीय साक्षरताका बारेमा हाम्रो सोच र बुझाइलाई नै परिवर्तन गर्न सक्छ। त्यसैले वित्तीय ज्ञान र आर्थिक व्यवस्थापनका बारेमा बुझ्न चाहनुहुन्छ भने यो पुस्तक एकपटक अवश्य पढ्नुहोस्।धन्यवाद।