विशेषगरी नयाँ व्यवसाय सुरु गर्न चाहने, उद्यमशीलतामा लागेका वा आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउन खोज्ने आशावादी व्यक्तिहरूका लागि लेखक पुरण थापाद्वारा लिखित आत्मसुधार तथा व्यावसायिक मार्गदर्शनसम्बन्धी एक उपयोगी नेपाली पुस्तक हो, ‘सफल व्यवसायीका १०१ रहस्य’। यस पुस्तकमा व्यवसाय सञ्चालन, व्यावसायिक सोचको विकास तथा सफल उद्यमी बन्न आवश्यक ज्ञान र सीपसम्बन्धी विषयवस्तुलाई सरल र सबैले बुझ्ने भाषामा प्रस्तुत गरिएको छ।
यस पुस्तकको नामबाटै स्पष्ट हुन्छ कि ‘सफल व्यवसायीका १०१ रहस्य’ मा सफल व्यवसायी बन्न आवश्यक १०१ वटा महत्त्वपूर्ण रहस्य, विचार र व्यावहारिक उपायहरू प्रस्तुत गरिएका छन्। यस पुस्तकका केही मुख्य विषयहरूलाई हेर्दा, सफल व्यवसायी बन्नका लागि सकारात्मक सोच, आत्मविश्वास र आवश्यकताअनुसार सोचविचार गरेर जोखिम मोल्न सक्ने क्षमता विकास गर्नुपर्छ भन्ने कुरामा जोड दिइएको छ।व्यवसाय स्थापना र सञ्चालन गरिसकेपछि त्यसको सफलताको मुख्य आधार ग्राहक हुन्। त्यसैले ग्राहकको मन कसरी जित्ने, उनीहरूको आवश्यकता कसरी बुझ्ने र उनीहरूलाई लामो समयसम्म व्यवसायसँग जोडिराख्ने भन्ने व्यावहारिक तरिकाहरू जान्नु आवश्यक छ।त्यसैगरी, व्यवसायमा पुँजीको सही परिचालन गर्ने, आम्दानीबाट बचत गर्ने, आवश्यक क्षेत्रमा लगानी गर्ने र फजुल खर्च नियन्त्रण गर्ने उपायहरू अपनाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यी कुराहरूलाई व्यवहारमा लागू गर्न सकेमा व्यवसायलाई व्यवस्थित बनाउँदै दीर्घकालीन सफलता हासिल गर्ने सम्भावना बढाउन सकिन्छ।
व्यवसायमा एक्लै काम गर्नुभन्दा आफ्नो टिम वा कर्मचारीहरूलाई कसरी प्रेरित गर्ने, उनीहरूको क्षमता कसरी विकास गर्ने र व्यवसायलाई व्यवस्थित रूपमा अगाडि बढाउँदै दीर्घकालीन सफलता कसरी हासिल गर्ने भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।व्यापार–व्यवसाय सधैँ एउटै गतिमा अघि बढिरहने स्थिर यात्रा होइन। यसमा उतारचढाव, उत्तरदायित्व, दबाब, चुनौती र अवसरहरू आइरहन्छन्। कहिलेकाहीँ प्रतिकूल परिस्थितिको सामना गर्नुपर्छ भने कहिलेकाहीँ नयाँ अवसरहरू प्राप्त हुन्छन्। यस्तो अवस्थामा नकारात्मक परिस्थितिलाई धैर्य, विवेक र सही निर्णयका साथ सम्हाल्ने तथा सकारात्मक परिस्थितिलाई अवसरका रूपमा उपयोग गर्ने क्षमता सफल व्यवसायीमा हुनुपर्छ। यिनै सीप र व्यावसायिक सोचको विकासले व्यवसायलाई दिगो, व्यवस्थित र सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
‘सफल व्यवसायीका १०१ रहस्य’ पुस्तकमा प्रस्तुत सिद्धान्तहरू व्यवसायमा मात्र नभई जीवनका विभिन्न क्षेत्रमा सफलता हासिल गर्न पनि उपयोगी हुन सक्छन्। यसमा समेटिएका विचार र व्यावहारिक उपायहरूलाई अध्ययन गरी आफ्नो जीवनमा लागू गर्न सकेमा हजुरले आफ्नो लक्ष्य प्राप्त गर्न, सकारात्मक सोचको विकास गर्न र आफूलाई अझ सक्षम तथा सफल व्यक्ति बनाउन सहयोग प्राप्त गर्न सक्नुहुन्छ।यो पुस्तक पढ्ने निर्णय गर्नु र यसमा भएका ज्ञानलाई व्यवहारमा उतार्ने इच्छा राख्नु नै आफ्नो व्यक्तित्व विकास तथा सफलताको यात्रामा अघि बढ्ने एउटा महत्त्वपूर्ण कदम हो। महान् लक्ष्य हासिल गर्न निरन्तर सिक्ने, आफ्नो क्षमतामा विश्वास गर्ने र हरेक चुनौतीबाट पाठ सिक्दै अगाडि बढ्ने बानी विकास गर्नु आवश्यक छ।त्यसैले यस पुस्तकको अध्ययन गर्नुहोस्, यसमा प्रस्तुत १०१ वटा सफलताका रहस्यलाई बुझ्नुहोस् र आफ्नो परिस्थिति तथा लक्ष्यअनुसार व्यवहारमा लागू गर्नुहोस्। यस पुस्तकबाट प्राप्त ज्ञानले हजुरको सोच, काम गर्ने शैली र जीवनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गरोस्।हेल्प टु हेल्प। धन्यवाद!