धन–सम्पत्ति भनेको पैसा, जमिन, मूल्यवान् धातु तथा अन्य मूल्यवान् स्रोतहरूको सङ्ग्रह हो। यसले मानिसका भौतिक आवश्यकताहरू पूरा गर्न, जीवनमा सुविधा प्राप्त गर्न तथा सन्तोष र आनन्दका साथ जीवनलाई सन्तुलित रूपमा सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।धन–सम्पत्तिको मनोविज्ञानबारे मोर्गन हाउसलले लेखेको विश्वप्रसिद्ध पुस्तक छ। यसको मुख्य सन्देश वित्तीय सफलता तपाईंको बुद्धिमत्ता वा गणितीय ज्ञानमा भन्दा बढी तपाईंको व्यवहार र मनोविज्ञानमा निर्भर हुन्छ भन्ने हो।पैसा कमाउनुभन्दा त्यसको सही व्यवस्थापन गर्नु अझ महत्त्वपूर्ण सीप हो। मानिसहरूले पैसाबारे कति जान्दछन् भन्नेभन्दा पनि उनीहरूले पैसासँग कस्तो व्यवहार गर्छन् भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ। प्रत्येक व्यक्तिको पैसाप्रतिको दृष्टिकोण उसको बाल्यकाल, पारिवारिक पृष्ठभूमि र जीवनका अनुभवहरूमा आधारित हुन्छ। त्यसैले एक व्यक्तिलाई मूर्खतापूर्ण लाग्ने आर्थिक निर्णय अर्को व्यक्तिका लागि न्यायसङ्गत हुन सक्छ।धनी बन्नका लागि हामीले जोखिम लिन र आशावादी हुन सक्नुपर्छ। तर धनी भइसकेपछि त्यसलाई कायम राख्न भने संयमता, नम्रता र आफ्नो सम्पत्तिको संरक्षण गर्ने क्षमता आवश्यक पर्दछ।ठूलो आम्दानी नभए पनि थोरै खर्च गर्ने र नियमित रूपमा केही रकम बचत गर्दै जाने हो भने धेरै सम्पत्ति कमाउन र जोगाउन सकिन्छ। बचत गर्नका लागि सधैँ कुनै ठोस कारण खोजिरहनु आवश्यक हुँदैन। बिना निश्चित उद्देश्य गरिएको बचतले जीवनमा आइपर्न सक्ने अप्रत्याशित संकटका बेला विकल्प र आर्थिक स्वतन्त्रता प्रदान गर्दछ।‘धन–सम्पत्तिको मनोविज्ञान’ पुस्तकमा लेखकले विभिन्न महत्त्वपूर्ण विषयलाई बीसवटा विशेष अध्यायमा विभाजन गरी हामीलाई जानकारी दिने प्रयास गर्नुभएको छ। ती विषयहरूलाई पूर्ण रूपमा अध्ययन गरेपछि पुस्तक र लेखकले दिन खोज्नुभएको भाव तथा सन्देशलाई अझ गहिरो रूपमा बुझ्न सकिन्छ।