चिन्ता हटाउने व्यावहारिक उपायहरू खोजेर आफूलाई व्यवस्थित राख्नुहोस्भनिन्छ नि, खाली दिमाग सैतानको घर हो। खाली दिमागले अनावश्यक चिन्ता र नकारात्मक विचारहरूलाई बढावा दिन सक्छ। त्यसैले हजुरले आफूलाई सकारात्मक तथा सिर्जनात्मक काममा व्यस्त राख्नुहोस्। आफ्नो रुचि, सौख वा पेसामा ध्यान केन्द्रित गरी समयलाई व्यवस्थित बनाउनुहोस्। जब हजुरसँग अनावश्यक चिन्ता गर्ने समय हुँदैन, तब त्यस्ता चिन्ताहरू बिस्तारै कम हुँदै जान सक्छन्।हामीभित्र उत्पन्न हुने धेरैजसो चिन्ता समस्याबारे स्पष्ट जानकारी नहुँदा हुन्छ। त्यसैले समस्या के हो, यसको कारण के हो र समाधानका सम्भावित उपायहरू के–के हुन सक्छन् भन्ने कुरा पत्ता लगाउनुहोस्। यी सबै तथ्यहरू कागजमा लेखेर विश्लेषण गर्नुहोस्। यसो गर्दा समस्यालाई स्पष्ट रूपमा बुझ्न र समाधानको बाटो पहिल्याउन सजिलो हुन्छ।त्यसपछि आफैँलाई प्रश्न गर्नुहोस्, “मैले जुन कुराको चिन्ता लिइरहेको छु, त्यो वास्तवमै घट्ने सम्भावना कति छ?” धेरैजसो अवस्थामा हामीले नचाहिँदो कुराको चिन्ता गरिरहेका हुन्छौँ, जुन वास्तवमा नहुन पनि सक्छ। त्यसैले अनावश्यक चिन्तामा अल्झिनुभन्दा वास्तविकता बुझेर समाधानका लागि उचित कदम चाल्नुहोस्।
धेरैजसो अवस्थामा हामीले चिन्ता लिनु नपर्ने कुराहरूमा अनावश्यक चिन्ता गरिरहेका हुन्छौँ। कतिपय समस्याहरू हाम्रो नियन्त्रणबाहिर पनि हुन्छन्। त्यसैले आफ्नो मानसिक शक्तिलाई कमजोर बनाउनुको सट्टा जीवनमा सकारात्मक परिवर्तन ल्याउने विचारहरूमा ध्यान केन्द्रित गर्नुहोस्। हाम्रो सोचाइले हाम्रो जीवन र व्यवहारमा ठूलो प्रभाव पार्छ। त्यसैले सधैँ सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्।अरूसँग बदला लिने सोचले उनीहरूलाई भन्दा बढी आफैँलाई मानसिक तनाव र अशान्ति दिन सक्छ। त्यसैले बदलाको भावना त्यागेर आफ्नो मनलाई शान्त राख्न सिक्नुहोस्। आफूसँग नभएका कुराहरूका लागि दुःखी हुनुभन्दा आफूसँग भएका कुराहरूको कदर गर्नुहोस्। आफ्नो जीवनमा भएका राम्रा पक्षहरूलाई पहिचान गर्नुहोस् र तिनप्रति कृतज्ञ रहनुहोस्।धेरैजसो मानिसहरू अरूले के भन्लान्, कसैले आलोचना गर्ला कि भन्ने डरले चिन्तित हुन्छन्। तर अरूको आलोचनाको डरले आफ्नो लक्ष्यबाट पछि नहट्नुहोस्। अनावश्यक आलोचना र नकारात्मक टिप्पणीको पछि लाग्न छोड्नुहोस्। बरु आफ्नो काम इमानदारी, आत्मविश्वास र दृढताका साथ गर्नुहोस्। यसरी हजुरले अनावश्यक चिन्ताबाट मुक्त भई शान्त र सन्तुष्ट जीवन बिताउन सक्नुहुन्छ।
अन्त्यमा, हेल्प टु हेल्पको तर्फबाट हजुरलाई यही सुझाव दिन चाहन्छौँ कि यो पुस्तक पूर्ण रूपमा पढ्नुहोस् र सधैँ आफ्नो सिरानीनजिक राख्नुहोस्। हजुरको समस्या र परिस्थितिसँग सम्बन्धित महत्त्वपूर्ण वाक्य तथा विचारहरूलाई चिन्ह लगाउनुहोस् र तिनको गहिरो अध्ययन गर्नुहोस्। पुस्तकमा सिकाइएका सिद्धान्तहरूलाई आफ्नो दैनिक जीवनमा व्यावहारिक रूपमा लागू गर्नुहोस्।किनकि यो केवल सामान्य रूपमा पढेर छोड्ने पुस्तक होइन, यो जीवनलाई गहिराइबाट बुझ्न र सही दिशा दिन सहयोग गर्ने पुस्तक हो। यसका विचार र सिद्धान्तहरूलाई व्यवहारमा उतार्न सक्नुभयो भने यसले हजुरको सोचाइमा सकारात्मक परिवर्तन ल्याउँदै जीवनलाई नयाँ दिशा दिन मद्दत गर्नेछ।धन्यवाद!