सफलता प्राप्त गर्न असाधारण बुद्धि वा जन्मजात प्रतिभाको आवश्यकता पर्दैन। बरु, आफ्नो सोचको दायरा फराकिलो बनाउनु र आफूमाथि दृढ विश्वास राख्नु आवश्यक हुन्छ।अमेरिकी लेखक डेभिड जे. स्वार्ट्जद्वारा लिखित ‘ठूलो सोचको ठूलो जादु’ (The Magic of Thinking Big) विश्वप्रसिद्ध आत्मसुधार तथा आत्मविश्वास अभिवृद्धिसम्बन्धी पुस्तक हो। यस पुस्तकमा सफल जीवनका लागि आवश्यक सोच, विश्वास र व्यवहारका विभिन्न पक्षहरूलाई समेट्दै १३ वटा प्रमुख सिद्धान्त तथा उपायहरूका बारेमा चर्चा गरिएको छ।यस पुस्तकले हजुरलाई आफू सफल हुन सक्छु भन्ने कुरामा दृढ विश्वास राख्न सिकाउँछ। जब हजुरले आफ्नो क्षमतामाथि विश्वास गर्नुहुन्छ, तब हजुरको दिमागले सफलता प्राप्त गर्ने उपाय र अवसरहरू खोज्न थाल्छ। त्यसैले सानो सोचलाई त्यागेर ठूलो सोच राख्नुहोस्, आफूमाथि विश्वास गर्नुहोस् र सफलताको यात्रामा दृढताका साथ अगाडि बढ्नुहोस्।
जब मानिसहरू काम गर्न चाहँदैनन्, तब उनीहरू बहानाबाजी गर्न थाल्छन्। यस्ता मानिसहरूले आफ्नो असफलताको कारण स्वास्थ्य, उमेर, शिक्षा, ज्ञान, बुद्धि वा भाग्यलाई बनाउँछन्। यस पुस्तकले हजुरलाई यस्ता बहानाहरूबाट मुक्त भई आत्मविश्वासका साथ अगाडि बढ्न सिकाउँछ।काम गर्दा आफ्नो क्षमतालाई कम आँकलन गर्ने वा पूर्ण रूपमा प्रयोग नगर्ने गल्ती नगर्नुहोस्। सानातिना कुरामा अल्झिनुको सट्टा सधैँ ठूला र दूरगामी लक्ष्यहरू निर्धारण गरी तिनलाई प्राप्त गर्न प्रयास गर्नुहोस्।काम सुरु गर्नुअघि वा काम गर्दै गर्दा हजुरभित्र डर उत्पन्न हुन सक्छ। यस्तो डरलाई कसरी हटाउने त? यसको एउटा प्रभावकारी उपाय हो—कार्यमा जुट्नु। अर्थात्, डर लागे पनि काम गर्न थाल्नुहोस्। आलस्य र कामलाई पछि सार्ने बानीले डरलाई झन् बढाउँछ।अरूले के भन्छन् वा के सोच्छन् भन्ने कुरामा अनावश्यक चिन्ता नगर्नुहोस्। आफ्नो वरपरका मानिसहरू र परिस्थितिलाई सधैँ सकारात्मक दृष्टिकोणले हेर्नुहोस्। किनकि सकारात्मक सोच र राम्रो दृष्टिकोणले जीवनमा राम्रा अवसरहरू पहिचान गर्न मद्दत गर्छ। हजुरले संसारलाई जुन दृष्टिकोणले हेर्नुहुन्छ, संसार पनि त्यस्तै देखिन थाल्छ।
यो पुस्तक किन पढ्ने र यसले हजुरको जीवनमा के परिवर्तन ल्याउनेछ?यस पुस्तकका अध्यायहरूमा हजुरले ठूलो सोचको असीमित शक्तिलाई आफ्नो जीवनमा उपयोग गर्न सक्षम बनाउने दर्जनौँ व्यावहारिक विचार, पद्धति र सिद्धान्तहरू फेला पार्नुहुनेछ। तिनलाई आफ्नो जीवनमा लागू गरेर हजुरले चाहेको सफलता, खुसी र सन्तुष्टि प्राप्त गर्न मद्दत पाउनुहुनेछ।यस पुस्तकमा प्रत्येक सिद्धान्तलाई वास्तविक जीवनका घटनाहरूसँग जोडेर सरल र व्यावहारिक रूपमा प्रस्तुत गरिएको छ। हजुरले के गर्नुपर्छ भन्ने कुरा मात्र होइन, त्योभन्दा महत्त्वपूर्ण कुरा, प्रत्येक सिद्धान्तलाई जीवनका वास्तविक परिस्थिति र समस्याहरूमा कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि सिक्नुहुनेछ।त्यसैले आफ्नो सोचलाई फराकिलो बनाउन, आत्मविश्वास बढाउन र जीवनमा सफलता हासिल गर्न चाहनुहुन्छ भने यो पुस्तक हजुरका लागि उपयोगी साबित हुन सक्छ।