पैसाप्रतिको हाम्रो दृष्टिकोण परिवर्तन गर्न र जीवनमा आर्थिक समृद्धि हासिल गर्न मद्दत गर्ने पुस्तक हो ‘आई लभ मनी’ (I Love Money)। भारतीय लेखक तथा प्रेरणादायी वक्ता सुरेश पद्मनाभन। लिखित यो पुस्तक आत्मसुधार तथा आर्थिक मार्गदर्शनसम्बन्धी लोकप्रिय कृति हो।यस पुस्तकले हजुरलाई आफ्नो परिवार वा संस्थाका लागि स्पष्ट आर्थिक मार्गचित्र तयार गर्न सहयोग गर्छ। पैसा कसरी कमाइन्छ, कहाँ खर्च हुन्छ र त्यसको उचित व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा यसले मार्गदर्शन प्रदान गर्छ। त्यसैगरी, अनावश्यक खर्च गर्ने, पैसा दुरुपयोग गर्ने वा फजुल खर्चमा संलग्न हुने बानीलाई सुधार्ने उपायहरू पनि प्रस्तुत गरिएका छन्।पैसाप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्न, रोकिएको वा फसेको रकम फिर्ता प्राप्त गर्ने सम्भावनाबारे सोच्न तथा बचत बढाउन अपनाउन सकिने विभिन्न प्रभावकारी विधिहरू पनि यस पुस्तकमा समावेश गरिएका छन्।
पैसा सबैलाई आवश्यक हुन्छ भन्ने कुरा हजुरलाई भनिरहनु नपर्ला। चाहे बच्चा होस्, युवा होस्, वयस्क होस् वा वृद्धवृद्धा, सबैको जीवनमा पैसाको महत्त्व हुन्छ। एउटा रोइरहेको बच्चाको हातमा पैसा थमाइदिनुभयो भने ऊ चुप लाग्न सक्छ। यो निर्जीव वस्तु पैसामा रहेको आकर्षणको शक्ति कति अनौठो छ भन्ने कुराको एउटा उदाहरण हो।पैसा—पैसा—पैसा! आज चारैतिर पैसाकै चर्चा छ। हजुरको खल्तीमा पैसा नभएको बेला पनि मनमा पैसाकै चिन्ता र आवश्यकता रहिरहन्छ। प्रत्येक मानिसको जीवनसँग जोडिएको एउटा महत्त्वपूर्ण पक्ष पैसा पनि हो। पैसाले मानिसलाई आफ्नोतर्फ आकर्षित गर्ने शक्ति राख्छ, चाहे त्यो हजुर हुनुहोस् वा म। त्यसैले पैसाको महत्त्व बुझ्नुका साथै यसलाई सही तरिकाले कमाउन, बचत गर्न र व्यवस्थापन गर्न सिक्नु आवश्यक छ।
पैसाको शक्ति परीक्षण गर्न हजुर आफैँले एउटा सानो प्रयोग गरेर हेर्नुहोस्। केही सिक्का लिनुहोस् र मानिसहरूले तिनको आवाज सुन्न सक्ने ठाउँमा ती सिक्काहरू खनखनाउनुहोस्। सिक्काको खनखनाहट सुन्नासाथ मानिसहरूको ध्यान त्यसतर्फ आकर्षित हुन सक्छ। यो आवाजले मानिसको मनमा पैसाप्रति रहेको आकर्षण र चासोलाई झल्काउँछ।आफूसँग सिक्का नभए पनि केही मानिसले आफ्नो खल्ती छामेर पैसा भए–नभएको जाँच गर्न सक्छन्। कतिपय मानिसले आफ्नो काम छोडेर समेत सिक्काको आवाज आएको दिशातर्फ हेर्न सक्छन्। यहाँसम्म कि शारीरिक पीडाले आक्रान्त भएका मानिसको ध्यान पनि केही क्षणका लागि त्यतातिर जान सक्छ। यसले पैसाले मानिसको सोचाइ र ध्यानमा पार्न सक्ने प्रभावलाई देखाउँछ।त्यसैले हजुरले आफ्नो काम र प्रयासलाई आम्दानीका अवसरहरू सिर्जना गर्ने दिशातर्फ केन्द्रित गर्नुहोस्। पैसा कमाउनका लागि निरन्तर प्रयास गर्नुहोस्, किनभने पैसा आफैँ आएर जम्मा हुँदैन। यसका लागि आवश्यक ज्ञान, सीप र प्रभावकारी उपायहरूबारे विस्तृत जानकारी प्राप्त गर्न पुस्तक पूरा पढ्नुहोस्।धन्यवाद!