विशेषगरी विद्यार्थी, विचारशील व्यक्ति तथा आफ्नो मानसिक क्षमता विकास गर्न चाहने जोकोहीका लागि उपयोगी पुस्तक हो ‘माइन्ड पावर’ (Mind Power)। डा. बी. के. चन्द्रशेखरद्वारा लिखित यो पुस्तक आत्मसुधार तथा मानसिक विकाससम्बन्धी ज्ञानवर्धक कृति हो। यसमा मस्तिष्कको क्षमता पहिचान गरी स्मरणशक्ति बढाउन, ध्यान केन्द्रित गर्न र सोच्ने क्षमताको विकास गर्न सहयोग पुर्याउने विभिन्न उपायहरू प्रस्तुत गरिएका छन्।यस पुस्तकले मानसिक क्षमतालाई सुदृढ बनाउन तथा मस्तिष्कको प्रभावकारी उपयोग गर्न सकिने विभिन्न विधिहरूबारे प्रकाश पारेको छ।
यस पुस्तकमा दिमागले कसरी नयाँ कुराहरू सिक्छ, सिकेका जानकारीलाई कसरी भण्डारण गर्छ र आवश्यक परेको बेला कसरी सम्झिन्छ भन्ने विषयलाई सरल तथा वैज्ञानिक ढङ्गले व्याख्या गरिएको छ। स्मरणशक्ति बढाउन दैनिक जीवनमा अपनाउन सकिने विभिन्न मानसिक अभ्यास र प्रविधिहरूबारे पनि जानकारी दिइएको छ।त्यसैगरी, मनलाई एकाग्र बनाउने, अनावश्यक तनावबाट मुक्त रहने र ध्यान केन्द्रित गर्ने प्रभावकारी उपायहरू प्रस्तुत गरिएका छन्। पढेका वा सिकेका कुराहरूलाई लामो समयसम्म स्मरणमा राख्न तथा परीक्षा वा कार्यक्षेत्रमा आवश्यक परेको बेला तिनलाई सही ढङ्गले प्रस्तुत गर्न सहयोग पुर्याउने विभिन्न सूत्रहरू पनि यस पुस्तकमा समावेश गरिएका छन्।