रहस्यको सामान्य अर्थ कुनै पनि लुकेको, गोप्य वा सजिलै बुझ्न नसकिने कुरा वा घटनालाई जनाउँछ। रहस्यले हामीभित्र कौतूहलता र उत्सुकता जगाउने काम गर्छ। यही कौतूहलता र उत्सुकताले मानिसलाई कुनै विषयबारे खोज तथा अनुसन्धान गर्न प्रेरित गर्छ।अस्ट्रेलियाली लेखिका रोंडा बर्नद्वारा लिखित अत्यन्तै प्रसिद्ध आत्मसुधार पुस्तक ‘द सेक्रेट’ ले आकर्षणको नियममा आधारित विभिन्न कुराहरूको चर्चा गरेको छ। आकर्षणको नियमअनुसार मानिसको दिमाग चुम्बकजस्तै हुन्छ। हामी जे सोच्छौँ, त्यस्तै कुराहरूलाई आफ्नो जीवनमा आकर्षित गर्छौँ। हाम्रो सोचाइमा रहेका सकारात्मक विचार र विश्वासले जीवनमा खुसी, स्वास्थ्य तथा धन–सम्पत्ति भित्र्याउन सहयोग गर्छन्। सकारात्मक सोचले सकारात्मक परिणाम निम्त्याउँछ भने नकारात्मक विचारले नकारात्मक नतिजा ल्याउँछ।कुनै कुरा प्राप्त गरिसकेपछि त्यसप्रति कृतज्ञता वा धन्यवादको भाव राख्दा जीवनमा अझ धेरै सकारात्मक कुराहरू थपिँदै जान्छन्। कुनै पनि कुरा प्राप्त गर्न पुस्तकले तीनवटा प्रक्रिया अपनाउन सुझाव दिन्छ कुनै कुरा माग्नु, आफूले मागेको कुरा प्राप्त हुन्छ भन्ने विश्वास गर्नु र अन्ततः आफूले चाहेको कुरा प्राप्त गर्नु। यही प्रक्रियालाई यस पुस्तकले रहस्यको प्राप्तिका रूपमा प्रस्तुत गरेको छ।यस पुस्तकमा लेखिकाले विभिन्न प्रकारका रहस्यका विषयमा केही मुख्य बुँदाहरू प्रस्तुत गरेकी छिन्। तीमध्ये प्रमुख विषयहरू यस प्रकार छन्:
रहस्यको उद्घाटन
रहस्यको सरलीकरण
रहस्य प्रयोग कसरी गर्ने?
शक्तिशाली प्रक्रियाहरू
धनको रहस्य
सम्बन्धको रहस्य
स्वास्थ्यको रहस्य
संसारको रहस्य
तपाईंका लागि रहस्य
जीवनको रहस्य