वर्तमान आर्थिक अनिश्चितताको समयमा परम्परागत बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मको जागिरले मात्र वित्तीय स्वतन्त्रता हासिल गर्न कठिन हुन सक्छ। त्यसैले आर्थिक उन्नति र प्रगति गर्न आफ्नै व्यवसाय स्थापना गर्नु किन आवश्यक छ भन्ने विषयमा प्रसिद्ध लेखक रोबर्ट कियोसाकीले ‘एक्काइसौँ शताब्दीको व्यवसाय’ (The Business of the 21st Century) नामक पुस्तक लेखेका छन्।यस पुस्तकमा व्यवसायको उद्देश्य केवल पैसा कमाउनु मात्र नभई वास्तविक जीवनमा आवश्यक पर्ने व्यावसायिक सीप सिक्नु, आत्मविश्वास बढाउनु र व्यक्तिगत विकास गर्नु पनि हो भन्ने कुरा उल्लेख गरिएको छ। लेखकले व्यवसायमार्फत आर्थिक अवसर सिर्जना गर्ने, आफ्नो क्षमता अभिवृद्धि गर्ने र भविष्यलाई आर्थिक रूपमा सुरक्षित बनाउने विषयमा महत्त्वपूर्ण मार्गदर्शन दिएका छन्।
यस पुस्तकलाई मुख्य रूपमा तीनवटा खण्डमा विभाजन गरिएको छ। पहिलो खण्ड ‘आफ्नो भविष्यको लगाम आफ्नै हातमा लिनुहोस्’ अन्तर्गत छवटा शीर्षक समेटिएका छन्। दोस्रो खण्ड ‘एक व्यवसाय, जसले आर्थिक सम्पत्ति निर्माण गर्छ’ अन्तर्गत आठवटा शीर्षक रहेका छन्। त्यसैगरी, तेस्रो खण्ड ‘अब तपाईंको भविष्य सुरु हुन्छ’ अन्तर्गत चारवटा शीर्षक समावेश गरिएका छन्। यसरी पुस्तकका तीनवटै खण्डमा जम्मा १८ वटा शीर्षकमा विभिन्न विषयहरूको विवेचना गरिएको छ।
एक्काइसौँ शताब्दीमा वास्तविक सम्पत्ति कसरी निर्माण गर्ने र आफ्नो जीवनलाई कसरी परिवर्तन गर्ने भन्ने कुरा सिक्न चाहने व्यक्तिहरूका लागि यस पुस्तकले प्रभावकारी र व्यावहारिक उपायहरू प्रस्तुत गरेको छ। लेखकले अधिकांश मानिसले अपनाउन सक्ने सफलताका सम्भावनाहरू पहिचान गरी तिनलाई व्यवहारमा लागू गर्ने तरिकाबारे मार्गदर्शन गरेका छन्। यस पुस्तकको सहयोगले पाठकहरूले आफ्नो आर्थिक जीवन, करियर र भविष्यलाई अझ व्यवस्थित बनाउँदै सही निर्णय लिन तथा आफ्नो जीवनको जिम्मेवारी आफैँ लिन सिक्न सक्छन्।
वास्तवमा, हजुरले आफ्नो वर्तमान पेसा वा काम मात्र परिवर्तन गरेर पुग्दैन, आफूलाई पनि परिवर्तन गर्न आवश्यक छ। यस पुस्तकले सफल व्यवसाय निर्माण गर्न आवश्यक पर्ने सीप, ज्ञान र क्षमता कसरी हासिल गर्ने भन्ने विषयमा मार्गदर्शन गर्छ। तर आफ्नो व्यवसायलाई विस्तार गर्नुअघि हजुरले आफ्नो सोच, क्षमता र व्यक्तित्वको विकास गर्नुपर्छ। यो विकास शारीरिक होस् वा मानसिक, आफ्नो जीवन र परिस्थितिलाई सकारात्मक रूपमा परिवर्तन गर्ने जिम्मेवारी हजुरकै हातमा हुन्छ। त्यसैले व्यवसायमा सफलता हासिल गर्न सर्वप्रथम आफूलाई सक्षम बनाउनु आवश्यक छ।