जीवन एउटा सोझो र सजिलो गल्ली होइन, जहाँ हामी निस्फिक्री र निर्बाध रूपमा हिँड्न सकौँ। यो त घुम्ती र चौबाटाहरूले भरिएको यात्रा हो, जहाँ हामीले कठिनाइका बीचमा आफ्नो बाटो आफैँ खोज्नुपर्छ र समय–समयमा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ।यही मूल सन्देश प्रस्तुत गर्ने विश्वप्रसिद्ध पुस्तक ‘मेरो चिज कसले हटायो?’ (Who Moved My Cheese?) डा. स्पेन्सर जोन्सनद्वारा लिखित एक लोकप्रिय पुस्तक हो। यस पुस्तकले जीवनमा आउने परिवर्तनलाई कसरी स्वीकार गर्ने, चुनौतीहरूको सामना कसरी गर्ने र बदलिँदो परिस्थितिअनुसार आफूलाई कसरी अनुकूल बनाउने भन्ने महत्त्वपूर्ण शिक्षा दिन्छ।
यस पुस्तकलाई एउटा रोचक कथाका रूपमा प्रस्तुत गरिएको छ। कथामा चार मुख्य पात्र छन्—दुई मुसा, स्निफ र स्करी, तथा दुई साना मानिसजस्ता पात्र, हेम र हाउ। स्निफ र स्करी परिवर्तनको सङ्केत छिट्टै पहिचान गर्छन् र नयाँ चिजको खोजीमा तुरुन्तै लाग्छन्। तर हेम र हाउ भने पुरानै चिजमा निर्भर हुन्छन् र परिवर्तनलाई सहजै स्वीकार गर्न चाहँदैनन्।यहाँ मुसाहरूले ग्रोथ माइन्डसेट अर्थात् विकासमुखी सोचको प्रतिनिधित्व गर्छन् भने हेमले फिक्स्ड माइन्डसेट अर्थात् स्थिर सोचको प्रतिनिधित्व गर्छ। कथामा सबै पात्रहरू एउटा ठाउँमा पुग्छन्, जसलाई ‘स्टेसन सी’ भनिएको छ। त्यहाँ उनीहरूले प्रशस्त चिज भेट्टाउँछन् र त्यसको उपयोग गरेर खुसीसाथ जीवन बिताउँछन्। तर, समय बित्दै जाँदा एक दिन अचानक त्यहाँको चिज सकिन्छ। त्यसपछि उनीहरूले नयाँ परिस्थितिको सामना गर्नुपर्ने हुन्छ र आफ्नो जीवनयापनका लागि नयाँ चिज खोज्नुपर्ने अवस्था आउँछ।
चिज सकिएपछि मुसाहरूले तुरुन्तै नयाँ चिजको खोजी गर्न थाल्छन्। तर, मानिसहरू भने पुरानै ठाउँमा बसेर गुनासो गर्दै, “मेरो चिज कसले हटायो?” भन्दै त्यसको कारण खोजिरहन्छन्। पछि हाउले जोखिम मोलेर भए पनि नयाँ चिजको खोजीमा निस्कने निर्णय गर्छन् र अन्ततः पहिलेभन्दा अझ राम्रो चिज भेट्टाउँछन्।यस कथाको मुख्य शिक्षा परिवर्तन अनिवार्य छ भन्ने हो। जीवन र कार्यक्षेत्रमा परिवर्तन भइरहन्छ, त्यसैले यसबाट भाग्न सकिँदैन। आफ्नो वरपर भइरहेका गतिविधि र परिस्थितिलाई निरन्तर नियालिरहनुपर्छ। परिवर्तनका सङ्केतहरू समयमै पहिचान गर्ने र त्यसलाई स्वीकार गर्न सिक्नुपर्छ। पुरानै अवस्थाप्रति निर्भर भएर बस्नुभन्दा नयाँ सम्भावनाको खोजी गर्नु नै सफलता प्राप्त गर्ने महत्त्वपूर्ण उपाय हो।
पुरानो कुरा वा अवस्था हराउँदा गुनासो गरेर बस्नुभन्दा नयाँ अवसरसँग आफूलाई छिटो अनुकूल बनाउनु पर्छ। कहिलेकाहीँ नयाँ बाटोमा हिँड्दा डर लाग्न सक्छ, तर त्यो डरलाई जितेर अघि बढ्दा अझ राम्रो सफलता प्राप्त गर्न सकिन्छ।यदि हामीसँग आस्था र विश्वास छ भने, हाम्रा लागि कुनै न कुनै ढोका अवश्य खुल्नेछ। त्यो ढोका हामीले सधैँभरि सोचिरहेको ढोका नहुन पनि सक्छ, तर नयाँ सम्भावनालाई स्वीकार गर्न सके त्यसले हाम्रो जीवनमा उत्तम अवसर ल्याउन सक्छ।हजुरले आफूले प्राप्त गरेका उपलब्धिहरूप्रति कृतज्ञ रहनुहोस्, खुसी मनाउनुहोस् र परिवर्तनसँगै अघि बढ्नुहोस्। जीवनमा आउने नयाँ अवसरहरूलाई खुला मनले स्वीकार गर्दै निरन्तर अगाडि बढ्नु नै सफलताको महत्त्वपूर्ण आधार हो।हेल्प टु हेल्प। धन्यवाद!