सबैभन्दा कठिन काम सबैभन्दा पहिले गर्नुहोस्ब्रायन ट्रेसीद्वारा लिखित इट द फ्रग (Eat That Frog!) पुस्तकको शीर्षक सुन्दा पाठकहरूलाई अनौठो लाग्न सक्छ। ‘भ्यागुतो खानु’ भन्ने अर्थ लाग्ने भएकाले यसको शीर्षकले हाँसो पनि उठाउन सक्छ। तर यसको वास्तविक अर्थ भ्यागुतो खानु होइन। यसको अर्थ दिनको सबैभन्दा कठिन र महत्त्वपूर्ण कामलाई सबैभन्दा पहिले पूरा गर्नु हो, जुन काम हामी प्रायः पछि सार्ने कोसिस गर्छौँ।यस पुस्तकमा अल्छीपन हटाएर कम समयमा धेरै काम गर्न सकिने २१ वटा प्रभावकारी तरिकाहरू उल्लेख गरिएका छन्। तीमध्ये केही प्रमुख तरिकाहरूको अर्थ छोटकरीमा यसरी बुझ्न सकिन्छ।
१. लक्ष्य स्पष्ट रूपमा लेख्नुहोस्: आफूले हासिल गर्नुपर्ने लक्ष्यहरू कागज वा डायरीमा स्पष्टसँग लेख्नुहोस्। अघिल्लो रात वा बिहानै दिनभरि गर्नुपर्ने कामहरूको योजना तयार पार्नुहोस्।२. महत्त्वपूर्ण काममा ध्यान केन्द्रित गर्नुहोस्: ८०/२० को सिद्धान्तअनुसार, हजुरका करिब २० प्रतिशत कामले ८० प्रतिशत परिणाम दिन सक्छन्। त्यसैले सबै काममध्ये सबैभन्दा बढी परिणाम दिने २० प्रतिशत महत्त्वपूर्ण कामलाई पहिला प्राथमिकता दिनुहोस्।
३. दीर्घकालीन प्रभाव पार्ने कामलाई प्राथमिकता दिनुहोस्: हजुरका काममध्ये दीर्घकालीन रूपमा सबैभन्दा ठूलो सकारात्मक प्रभाव पार्ने कामलाई पहिलो प्राथमिकता दिनुहोस्।४. कामलाई महत्त्वअनुसार वर्गीकरण गर्नुहोस्: हजुरले गर्नुपर्ने कामहरूलाई तिनको महत्त्वका आधारमा A, B, C र D श्रेणीमा विभाजन गर्नुहोस् र सोहीअनुसार प्राथमिकता निर्धारण गर्नुहोस्।५. ठूला कामलाई साना भागमा विभाजन गर्नुहोस्: ठूला र जटिल कामहरू एकैचोटि देख्दा डर लाग्न सक्छ। त्यसैले त्यस्ता कामलाई साना र सहज चरणहरूमा विभाजन गर्नुहोस् र काम सुरु गर्नुहोस्।६. आत्मअनुशासन र दृढता अपनाउनुहोस्: समय व्यवस्थापनको मुख्य मन्त्र नै निर्णय गर्ने क्षमता, आत्मअनुशासन र कामप्रतिको दृढता हो। यी गुणहरू अपनाउँदै सुरु गरेका महत्त्वपूर्ण कामहरूलाई समयमै पूरा गर्नुहोस्।
यसरी यी सबै कुराको सार भन्नुपर्दा, बिहान उठ्नेबित्तिकै एउटा जीवित भ्यागुतो खानुपर्ने उदाहरणमार्फत दिनको सबैभन्दा कठिन र महत्त्वपूर्ण कामलाई सुरुमै पूरा गर्नुपर्ने सन्देश दिइएको छ। यसको अर्थ हजुरले दिनको सुरुआतमै सबैभन्दा गाह्रो र ठूलो काम सम्पन्न गर्नुभयो भने बाँकी दिनका कामहरू तुलनात्मक रूपमा सहज हुनेछन्। यसले मानसिक तनाव कम गर्न, आत्मविश्वास बढाउन र दिनलाई रमाइलो तथा उपलब्धिमूलक बनाउन मद्दत गर्छ।यस पुस्तकमा उल्लेख गरिएका सबै २१ वटा प्रभावकारी तरिकाहरूबारे विस्तृत जानकारी प्राप्त गर्न पुस्तक पढ्ने बानीको विकास गरौँ।हेल्प टु हेल्प। धन्यवाद!