साथीहरूको मन जित्न र मानिसलाई प्रभावित पार्न सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सच्चा तथा सरल व्यवहार, सकारात्मक सोच, स्पष्ट अभिव्यक्ति र अरूको सम्मान गर्नु हो। मानिसहरू हजुरले के भन्नुहुन्छ भन्ने कुराभन्दा पनि हजुरले उनीहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्ने कुराबाट बढी प्रभावित हुन्छन्। प्रसिद्ध लेखक डेल कार्नेगीद्वारा लिखित विश्वप्रसिद्ध पुस्तक साथीहरू कसरी बनाउने र मानिसहरूलाई कसरी प्रभावित पार्ने (How to Win Friends and Influence People) मा यिनै महत्त्वपूर्ण कुराहरूलाई सरल र सबैले बुझ्न सक्ने भाषामा प्रस्तुत गरिएको छ। यस पुस्तकले मानिसहरूसँग राम्रो सम्बन्ध स्थापित गर्न, उनीहरूको मन जित्न र आफ्नो व्यक्तित्वलाई प्रभावशाली बनाउन उपयोगी मार्गदर्शन प्रदान गर्छ।
प्रभावकारी संवाद र कुराकानीका लागि अरूका कुरा ध्यानपूर्वक सुन्नुहोस् र आफू कम बोल्दै अरूलाई आफ्ना विचार व्यक्त गर्ने पर्याप्त अवसर दिनुहोस्। अरूका राम्रा काम र गुणहरूको खुलेर प्रशंसा गर्नुहोस्। कुराकानीका क्रममा व्यक्तिको नाम लिएर सम्बोधन गर्नुहोस्। सकारात्मक वाणी र व्यवहार अपनाउनुका साथै सदैव हँसिलो मुहार राख्नुहोस्। अरूलाई सहयोग गर्ने बानीको विकास गर्नुहोस् र आफ्नो गल्ती भएको अवस्थामा त्यसलाई सहर्ष स्वीकार गर्न नहिचकिचाउनुहोस्। साथै, हरेक परिस्थितिमा सकारात्मक सोच राख्ने प्रयास गर्नुहोस्।यी लगायत मानिसहरूसँग राम्रो सम्बन्ध स्थापित गर्न र उनीहरूको मन जित्न आवश्यक अन्य महत्त्वपूर्ण कुराहरूलाई लेखकले यस पुस्तकमा व्यवस्थित रूपमा बुँदागत शैलीमा प्रस्तुत गर्नुभएको छ। ती बुँदाहरूलाई यसरी बुझ्न र व्यवहारमा लागू गर्न सकिन्छ।
डेल कार्नेगीद्वारा लिखित यस पुस्तकलाई विभिन्न भागमा विभाजन गरी मानिससँग प्रभावकारी व्यवहार गर्ने र उनीहरूको मन जित्ने उपायहरू प्रस्तुत गरिएको छ। भाग एकअन्तर्गत मानिससँग व्यवहार गर्ने आधारभूत तरिकाहरूबारे तीनवटा मुख्य बुँदामा चर्चा गरिएको छ। भाग दुईमा अरूलाई आफू मन पर्ने व्यक्ति बन्ने उपायहरू छवटा बुँदामार्फत प्रस्तुत गरिएका छन्। त्यसैगरी, भाग तीनमा अरूलाई आफ्नो सोच र विचारप्रति सहमत गराउने तरिकाहरूबारे चर्चा गरिएको छ। भाग चारमा मानिसको मन नदुखाई अरूलाई परिवर्तन गर्न सकिने उपायहरू प्रस्तुत गरिएका छन्।मानिसहरूसँग राम्रो सम्बन्ध स्थापित गर्न, उनीहरूको मन जित्न र आफ्नो व्यक्तित्वलाई प्रभावशाली बनाउन उपयोगी मार्गदर्शन प्रदान गर्ने यस पुस्तकले व्यवहारकुशलता र संवादकलाको महत्त्व बुझाउँछ। त्यसैले, हजुरहरूलाई यस पुस्तकका सबै खण्ड ध्यानपूर्वक अध्ययन गरी सिकेका कुराहरूलाई आफ्नो दैनिक जीवनमा लागू गर्न र सबैका सामु आत्मविश्वासी तथा प्रभावशाली व्यक्तित्वका रूपमा उभिन हार्दिक अनुरोध गर्दछु। धन्यवाद!