हजुरसँग जतिसुकै ठूला सपना र योजनाहरू भए पनि हजुरमा आत्मानुशासन छैन भने ती सपना र योजनाहरू पूरा गर्न कठिन हुन्छ। आत्मानुशासनको शक्ति भनेको आफूलाई निश्चित नियम र सीमाभित्र राख्दै आफ्ना निर्णय तथा प्रतिबद्धताहरूको पालना गर्न सक्ने क्षमता हो। यसका लागि बाहिरी दबाब वा अरूको हस्तक्षेप आवश्यक पर्दैन, किनकि आत्मानुशासनले मानिसलाई आफ्नै इच्छाशक्ति र दृढ संकल्पका आधारमा अघि बढ्न प्रेरित गर्छ। यसले हामीलाई तुरुन्तै प्राप्त हुने सानो लाभको लोभ र अल्छीपनलाई त्यागेर दीर्घकालीन योजना तथा लक्ष्यमा केन्द्रित हुन सहयोग गर्छ। आत्मानुशासित व्यक्तिले आफ्नो रिस, लोभ र खराब बानीहरूलाई बिस्तारै नियन्त्रण गर्दै आफ्नो व्यवहारमा सुधार ल्याउन सक्छ। यसरी आत्मानुशासनले मानिसलाई आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहन, समयको सदुपयोग गर्न र जीवनमा सफलता हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।
आत्मानुशासनले मानिसलाई अनावश्यक र अनैतिक कामहरूबाट टाढा राख्छ। यसले समयको महत्त्व बुझ्न, कुन काम बढी महत्त्वपूर्ण छ भन्ने छुट्याउन र कुन काम कहिले तथा कसरी गर्ने भन्ने निर्णय लिन सहयोग गर्छ। राम्रा बानीहरू एकै दिनमा विकास हुँदैनन्। यसका लागि दैनिक रूपमा बिस्तारै आफूमा सकारात्मक परिवर्तन ल्याउँदै असल कामहरू निरन्तर दोहोर्याइरहनुपर्छ। यस्तो अभ्यासका लागि आत्मानुशासनको शक्ति आवश्यक हुन्छ।जब हामी आफूले आफैँलाई दिएको जिम्मेवारी वा वचन पूरा गर्छौँ, तब हाम्रो आत्मविश्वास र आत्मनियन्त्रण क्रमशः बढ्दै जान्छ र हामी मानसिक रूपमा अझ बलियो बन्छौँ। कुनै व्यक्तिमा पर्याप्त प्रतिभा, ज्ञान र अवसर हुँदाहुँदै पनि आत्मानुशासनको कमीका कारण उसले सफलता हासिल गर्न नसक्न सक्छ। तर औसत क्षमता र सीमित ज्ञान भएको व्यक्तिले पनि कडा आत्मानुशासन, निरन्तर प्रयास र दृढ संकल्पका साथ अघि बढेर सफलताको शिखर चुम्न सक्छ। त्यसैले आत्मानुशासन भनेको जीवनलाई सार्थक, व्यवस्थित र सफल बनाउने अमूल्य आधारशिला हो।
आत्मानुशासनको बानी विकास गर्नु एकै दिनमा सम्भव हुने कुरा होइन। यो त केही आधारभूत कुराहरूमा ध्यान दिँदै निरन्तर अभ्यास र प्रयासका माध्यमबाट बिस्तारै विकास गर्न सकिने गुण हो। ब्रायन ट्रेसीद्वारा लिखित आत्मानुशासनको शक्ति पुस्तकलाई तीनवटा खण्डमा विभाजन गरिएको छ। पहिलो खण्डमा ‘आत्मानुशासन र व्यक्तिगत सफलता’ शीर्षकअन्तर्गत सातवटा अध्यायमा विभिन्न विषयहरूको विवेचना गरिएको छ। दोस्रो खण्डमा ‘व्यवसाय, बिक्री र वित्तमा आत्मानुशासन’ शीर्षकअन्तर्गत थप सातवटा अध्यायमा चर्चा गरिएको छ। त्यसैगरी, तेस्रो खण्डमा ‘आत्मानुशासन र खुसी जीवन’ शीर्षकअन्तर्गत अन्य सातवटा अध्याय समावेश गरिएका छन्। यसरी जम्मा २१ वटा अध्यायमा आत्मानुशासनको महत्त्व, यसको विकास गर्ने उपाय र जीवनका विभिन्न क्षेत्रमा यसको उपयोगिताबारे विस्तृत रूपमा व्याख्या गरिएको छ।त्यसैले, यस पुस्तकको अध्ययन गर्नुहोस् र यसमा सिकाइएका उपयोगी कुराहरूलाई आफ्नो दैनिक जीवनमा लागू गर्नुहोस्। धन्यवाद!