मानिसले बोल्न सुरु नगरेसम्म बोल्न सिक्न सक्दैन। त्यसैले उसले आफ्नो क्षमता, इच्छाशक्ति र बोल्ने कलामा विश्वास गर्दै बोल्न सुरु गर्नुपर्छ। मानिसले आफ्नो इच्छाशक्तिलाई सर्वोच्च स्थानमा राख्नुपर्छ र आफ्ना विचार, भावना तथा शारीरिक शक्तिमाथि नियन्त्रण कायम गर्नुपर्छ। यही कुरालाई ध्यानमा राख्दै डेल कार्नेगीले द आर्ट अफ पब्लिक स्पिकिङ (The Art of Public Speaking) पुस्तक प्रस्तुत गरेका छन्। यस पुस्तकले मानिसमा हुने सार्वजनिक रूपमा बोल्ने डरलाई हटाउँदै आत्मविश्वासका साथ आफ्ना विचार व्यक्त गर्न र एक प्रभावशाली वक्ता बन्ने कला सिकाउँछ। यसको अध्ययन र अभ्यासबाट मानिसले आफ्नो बोल्ने क्षमता विकास गरी सार्वजनिक जीवनमा आत्मविश्वासी र प्रभावशाली व्यक्तित्व निर्माण गर्न सक्छ।
सार्वजनिक रूपमा बोल्ने डर हटाउने सबैभन्दा उत्तम उपाय भनेको बोल्नुअघि पूर्ण तयारी गर्नु र निरन्तर अभ्यास गर्नु हो। श्रोता तथा दर्शकसामु प्रस्तुत हुनुअघि वक्ताले आफूले बोल्न लागेको विषयवस्तुमाथि राम्रो पकड राख्नु आवश्यक हुन्छ। एउटै आवाज र गतिमा बोल्दा श्रोता तथा दर्शकलाई झर्को लाग्न सक्छ। त्यसैले वक्ताले आफ्नो आवाजको उतारचढाव, बोल्ने गति, उच्चारण र शारीरिक हाउभाउमा विशेष ध्यान दिनुपर्छ। बोल्ने क्रममा महत्त्वपूर्ण कुरा व्यक्त गर्नुअघि केही क्षण रोकिने र त्यसपछि उपयुक्त स्वर तथा गतिमा बोल्ने गर्दा श्रोता तथा दर्शकको ध्यान आकर्षित गर्न सकिन्छ। यसले वक्ताले प्रस्तुत गर्न खोजेको विषयवस्तुलाई अझ प्रभावकारी बनाउँछ। साथै, वक्ताले आफ्ना मुख्य सन्देशसँग सम्बन्धित महत्त्वपूर्ण शब्दहरू पहिचान गरी तिनलाई विशेष जोड दिएर उच्चारण गर्नुपर्छ। यसो गर्दा श्रोता तथा दर्शकले वक्ताको भनाइ र मुख्य सन्देशलाई स्पष्ट रूपमा बुझ्न सक्छन्।
राम्रो वक्तव्य प्रस्तुत गर्नका लागि श्रोता तथा दर्शकको मनोविज्ञान बुझ्नु आवश्यक हुन्छ। आफ्ना विचारहरूलाई सरल, स्पष्ट र उदाहरणसहित प्रस्तुत गर्दा श्रोता तथा दर्शकलाई कुरा बुझ्न सजिलो हुन्छ र उनीहरू वक्ताको भनाइप्रति अझ आकर्षित हुन्छन्। यसरी यस पुस्तकमा लेखकले सार्वजनिक रूपमा बोल्ने कलाको विकास गर्न, आफ्नो आत्मविश्वास बढाउन र प्रभावशाली वक्ता बन्नका लागि विभिन्न महत्त्वपूर्ण उपायहरू प्रस्तुत गर्नुभएको छ। उहाँले यी उपायहरूलाई व्यवहारमा उतार्दै निरन्तर अभ्यास गर्न र आफूलाई श्रोता तथा दर्शकमाझ प्रस्तुत गर्न प्रोत्साहित गर्नुभएको छ। यी सबै कुराहरूको विस्तृत जानकारी प्राप्त गर्न हजुरहरूले यस पुस्तकको पूर्ण पाठ अध्ययन गर्नुपर्ने हुन्छ। धन्यवाद!