धेरै मानिसहरू दैनिक जीवनमा आइपर्ने समस्याहरूको समाधान गर्ने क्रममा हार मान्छन्। उनीहरू संघर्ष त गर्छन्, तर सँगसँगै गुनासो पनि गरिरहन्छन् र आफ्नो भाग्य नै खराब भएको विश्वास गर्छन्।सन् १९५२ मा नर्मन भिन्सेन्ट पिलले ‘सकारात्मक सोचको शक्ति’ नामक विश्वप्रसिद्ध आत्म-सुधार तथा आत्मसहयोगसम्बन्धी पुस्तक लेखेका थिए। यस पुस्तकमा मानिसको सोच्ने तरिकाले उसको जीवनमा प्राप्त हुने सफलता र खुसीलाई निर्धारण गर्छ भन्ने कुरामा विशेष जोड दिइएको छ।:पुस्तकको सुरुवात नै आत्मविश्वासको महत्त्वबाट हुन्छ। लेखकका अनुसार, जबसम्म हजुर आफ्नो क्षमतामा विश्वास गर्नुहुन्न र आफूले आफूमाथि विश्वास गर्न सिक्नुहुन्न, तबसम्म हजुर सफल वा खुसी हुन सक्नुहुन्न।सकारात्मक आत्मविश्वासका साथ आफूलाई ‘म कमजोर छु’ भन्नुको सट्टा ‘म यो गर्न सक्छु’ भन्ने भावनाको विकास गर्नुपर्छ। तनाव र चिन्ताले हाम्रो ऊर्जा नष्ट गर्छ। त्यसैले मनको शान्तिका लागि दिमागलाई शान्त राख्नु आवश्यक हुन्छ। यसका लागि दैनिक केही समय मौन बसेर वा ध्यान गरेर बिताउने बानी बसाल्नुपर्छ।प्रार्थना र आस्थालाई पुस्तकमा ठूलो शक्तिका रूपमा प्रस्तुत गरिएको छ। प्रार्थनाले मनमा रहेका डर, चिन्ता र नकारात्मक भावनाहरू हटाउन मद्दत गर्छ। आफ्नो खुसीको सिर्जना आफैँ गर्न सक्नुपर्छ। खुसी बाहिरी परिस्थितिमा मात्र निर्भर हुँदैन; यो मानिसको सोच्ने तरिकामा निर्भर गर्छ।हरेक बिहान उठ्दा ‘आजको दिन राम्रो हुनेछ’ भन्ने सकारात्मक विचारका साथ दिनको सुरुवात गर्नु खुसी रोज्ने एउटा सुन्दर तरिका हो। समस्याहरू सबैको जीवनमा आउँछन्, तर समस्यालाई हेर्ने दृष्टिकोण सकारात्मक भयो भने कठिन परिस्थितिमा पनि समाधान र अवसर देख्न सकिन्छ।कुनै पनि काममा पटक–पटक असफल हुँदैमा निराश हुनु हुँदैन। हरेस नखाई मानसिक रूपमा बलियो भएर आफ्नो लक्ष्य प्राप्तिका लागि पूर्ण प्रयास गर्नुपर्छ। मानसिक चित्रणको शक्तिमार्फत आफूले प्राप्त गर्न चाहेको लक्ष्य र सफलताको स्पष्ट मानसिक चित्र बनाउनुपर्छ।सफलताको कल्पना गर्दै आफ्नो दिमागमा सफलताको चित्र बारम्बार दोहोर्याउँदा त्यसले अवचेतन मनमा सकारात्मक प्रभाव पार्छ। त्यसपछि हजुरको अवचेतन मनले पनि हजुरलाई त्यही लक्ष्य र सफलतातर्फ अघि बढ्न प्रेरित गरिरहेको हुन्छ।यी सबै कुरालाई आधार मान्दा हामी भन्न सक्छौँ कि हाम्रा विचारहरूमा जीवन परिवर्तन गर्ने अद्भुत र शक्तिशाली सामर्थ्य हुन्छ। यदि हामीले आफ्नो मनबाट नकारात्मक सोच, डर र शंकालाई हटाएर सकारात्मक आशा र विश्वासलाई स्थान दिन सक्यौँ भने, हामी जुनसुकै कठिनाइलाई पनि साहसका साथ पार गर्न सक्छौँ।यस पुस्तकमा लेखकले सकारात्मक सोचको शक्तिलाई कसरी अझ बलियो र सशक्त बनाउने भन्ने विषयमा विभिन्न सूत्र, उपाय र विषयवस्तुहरू छनोट गरी विस्तृत रूपमा व्याख्या गरेका छन्। पुस्तकमा प्रस्तुत यी विषयहरूलाई क्रमशः पढ्दै, बुझ्दै र आफ्नो जीवनमा लागू गर्दै गएमा हामी आफ्नो सोचलाई सकारात्मक दिशातर्फ अघि बढाउन सक्छौँ।