कुनै खास उद्देश्य प्राप्तिका लागि निश्चित व्यक्तिहरू एकत्रित भई सामूहिक रूपमा सम्पादन गर्ने कार्यसमूहलाई टिम भनिन्छ। सफल टिम निर्माण गर्न र त्यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न स्पष्ट उद्देश्य, प्रभावकारी नेतृत्व र बलियो सञ्चार आवश्यक हुन्छ।यही विषयलाई केन्द्रमा राख्दै प्रख्यात लेखक माइल मिगिनले सफल टिम निर्माण गर्ने मुख्य तरिकाहरू प्रस्तुत गरेका छन्। उनका विचारहरूले टिमका सदस्यहरूबीच सहकार्य, जिम्मेवारी, विश्वास र प्रभावकारी सञ्चारको विकास गर्दै साझा लक्ष्य हासिल गर्न महत्वपूर्ण मार्गदर्शन प्रदान गर्छन्।टिमका प्रत्येक सदस्यलाई संस्थाको साझा उद्देश्य र आफ्नो भूमिकाबारे स्पष्ट जानकारी हुनुपर्छ। लक्ष्य स्पष्ट भएमा सबै सदस्यहरू एउटै दिशामा केन्द्रित भएर काम गर्न सक्छन्।टिमभित्र आफ्ना विचार र सुझावहरू सहज रूपमा राख्न पाउने वातावरण हुनुपर्छ। द्विदिशीय सञ्चार (Two-way Communication) ले आपसी समझदारी बढाउनुका साथै काममा सहजता ल्याउँछ। त्यस्तै, सही व्यक्ति छनोट गरी उसको क्षमता र रुचिअनुसार उपयुक्त भूमिका तथा जिम्मेवारी प्रदान गर्नु पनि अत्यन्त आवश्यक हुन्छ।टिममा फरक–फरक क्षमता, संस्कृति र पृष्ठभूमि भएका व्यक्तिहरूलाई समावेश गर्दा विविध विचार र नयाँ सोचहरू उत्पन्न हुन्छन्। त्यसैले प्रत्येक व्यक्तिको रुचि र क्षमताअनुसार उपयुक्त जिम्मेवारी प्रदान गर्नु आवश्यक हुन्छ।एक सफल टिमको जग नै विश्वास हो। पारस्परिक विश्वास र एकअर्काप्रतिको सम्मान नै टिमको आधारशिला हो। टिम लिडरले सबै सदस्यलाई विश्वास गर्दै उनीहरूको भावना, विचार र सांस्कृतिक विविधताको सम्मान गर्नुपर्छ। यसरी विश्वास, सहकार्य र सम्मानमा आधारित टिमले साझा लक्ष्यलाई प्रभावकारी रूपमा हासिल गर्न सक्छ।यदि टिमका सदस्यहरू एउटै प्रकारको काम निरन्तर गर्दा थकित वा बोर भएका छन् भने, उनीहरूलाई सिक्ने र अघि बढ्ने अवसर प्रदान गर्दै नयाँ तथा चुनौतीपूर्ण जिम्मेवारीहरू दिनुपर्छ। यसले उनीहरूको कार्यक्षमता, उत्साह र उत्प्रेरणा बढाउँछ।टिमले राम्रो नतिजा हासिल गर्दा वा कुनै सदस्यले उत्कृष्ट काम गर्दा उसको योगदानको खुलेर प्रशंसा गर्नुपर्छ। योगदानको कदर, प्रशंसा तथा पुरस्कारले टिममा सकारात्मक ऊर्जा, आत्मविश्वास र उत्पादकता बढाउन महत्वपूर्ण भूमिका खेल्छ।
टिम भनेको फरक–फरक योग्यता, क्षमता, अनुभव र पृष्ठभूमि भएका मानिसहरूको समूह हो। यस समूहमा आबद्ध व्यक्तिहरू साझा लक्ष्य प्राप्त गर्न एकसाथ मिलेर काम गर्छन्। उनीहरूका व्यक्तिगत स्वार्थभन्दा साझा उद्देश्य र लक्ष्य महत्वपूर्ण हुन्छ।यही साझा लक्ष्यले सबै सदस्यलाई एउटा बलियो सूत्रमा बाँधेर राख्छ र सामूहिक रूपमा अघि बढ्न प्रेरित गर्छ। यही सहकार्य, एकता र साझा उद्देश्यमा आधारित समूहलाई ‘टिम’ भनिन्छ।यी कुराहरूलाई अझ विस्तृत र व्यावहारिक रूपमा बुझ्न पुस्तकको अध्ययन गर्नुहोस्।