विश्वप्रसिद्ध लेखक तथा व्यवस्थापन सल्लाहकार ब्रायन ट्रेसीद्वारा लिखित यो पुस्तक अन्तर्राष्ट्रिय क्षेत्रमा अत्यधिक बिक्री हुने लोकप्रिय पुस्तक हो।यस पुस्तकमा हामीले आफ्नो जीवनका हरेक लक्ष्यहरू कसरी सोचेको भन्दा छिटो र सहज रूपमा हासिल गर्न सक्छौँ भन्ने विषयलाई व्यावहारिक उदाहरण, प्रभावकारी सूत्र र उपयोगी रणनीतिहरूसहित स्पष्ट रूपमा प्रस्तुत गरिएको छ।
लक्ष्य निर्धारण गर्नु नै सफलताको सबैभन्दा पहिलो र महत्त्वपूर्ण खुड्किलो हो। हामीमध्ये धेरैजसो मानिसले लक्ष्यको महत्त्व नबुझेर, लक्ष्य कसरी बनाउने भन्ने प्रक्रियाबारे जानकारी नभएर, लक्ष्य किन बनाउने भन्ने स्पष्ट कारण पहिचान गर्न नसकेर वा जीवनमा असफल हुने तथा अस्वीकार गरिने भित्री डरका कारण लक्ष्य निर्धारण नै गर्दैनौँ।हामीभित्र भएका हाम्रा विचारहरूले नै हाम्रो वास्तविकता निर्माण गर्छन्। त्यसैले हामीले आफ्नो लक्ष्यमा स्पष्ट रूपमा ध्यान केन्द्रित गर्यौँ भने आफ्नो क्षमताको सही उपयोग गर्दै सफलता हासिल गर्न सक्छौँ।आफ्नो काम र जीवनको जिम्मेवारी पूर्ण रूपमा आफैँले लिनु तथा समयको सही व्यवस्थापन गर्न सक्नु नै लक्ष्यप्रेरित प्रगतिको मुख्य आधार हो।
लक्ष्यलाई सामान्य अर्थमा बुझ्दा उद्देश्य, ध्येय, टाकेको कुरा वा गन्तव्य भन्ने बुझिन्छ। लक्ष्य प्राप्त गर्नका लागि स्पष्ट योजना, पूर्वतयारी, मेहनत, निरन्तर प्रयास र संघर्ष आवश्यक हुन्छ। यही निरन्तर यात्राले लक्ष्यप्राप्तिको मार्ग तय गर्छ।ब्रायन ट्रेसीले यस पुस्तकमा जम्माजम्मी २१ वटा सरल, व्यावहारिक तथा प्रेरणादायी लक्ष्यप्राप्तिका नियमहरू प्रस्तुत गरेका छन्। यी नियमहरूले मानिसको आत्मविश्वास, आत्मजागरूकता र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छन्।यी सबै कुरालाई आफ्नो जीवनमा व्यवहारमा उतार्न र लक्ष्यप्राप्तिको सही मार्ग बुझ्नका लागि पुस्तकको पूर्ण अध्ययन गर्नु आवश्यक छ।धन्यवाद।