डेरेन हार्डीद्वारा लिखित विश्वप्रसिद्ध पुस्तक ‘चक्रवृद्धिको प्रभाव’ (The Compound Effect) ले हामीलाई यो शिक्षा दिन्छ कि कसैको जीवनमा रातारात कुनै ठूलो सफलता हात पर्दैन। बरु, हामीले दोहोर्याइरहने हाम्रा साना–साना दैनिक बानी र तिनै बानीमा आधारित निर्णयहरूले समयको निश्चित अन्तरालमा ठूलो परिणाम निर्माण गरिरहेका हुन्छन्।हाम्रो जीवनमा सकारात्मक वा नकारात्मक परिणाम आउनुमा हामीले दैनिक रूपमा गर्ने कार्यहरूको महत्वपूर्ण भूमिका हुन्छ। यसलाई यसरी बुझ्न सकिन्छ—हाम्रा साना–साना कार्यहरू निरन्तर रूपमा दोहोरिँदै जाँदा समयसँगै त्यसको परिणाम ठूलो परिवर्तनमा परिणत हुन्छ।हाम्रो आजको जीवनको परिणाम धेरै हदसम्म हिजोका साना–साना निर्णय, बानी र कार्यहरूले निर्धारण गरेका हुन्छन्। ती निर्णय सही थिए वा गलत, त्यसको मूल्याङ्कन गर्ने जिम्मेवारी हजुरहरूकै हातमा छ।त्यसैले हामीले आफ्ना दैनिक काम, कार्य र क्रियाकलापहरूलाई सही दिशामा राख्दै हरेक निर्णय सचेत र जिम्मेवार भएर लिनुपर्छ। किनकि सानो–सानो सही कदमको निरन्तरता नै भविष्यको ठूलो सफलताको आधार बन्न सक्छ।किन कोही मानिस सफल हुन्छन् र त्यही काममा अर्को मानिस असफल हुन्छन् त? सफल र असफल मानिसबीचको प्रमुख र मुख्य फरक उनीहरूको बानी नै हो।खराब बानीहरूलाई हटाएर असल बानी स्थापित गर्दा आफ्नो जीवनको लक्ष्य वा उद्देश्य स्पष्ट र दृश्यमान हुनुपर्छ। जबसम्म कुनै कामप्रति तीव्र उत्साह, ऊर्जा र इच्छाशक्ति हुँदैन, तबसम्म नयाँ बानी बसाल्न र त्यसलाई निरन्तरता दिन कठिन हुन्छ।कुनै पनि नयाँ काम सुरु गर्न धेरै ऊर्जा, धैर्य र निरन्तर प्रयास आवश्यक पर्छ। अझ आफूले अहिलेसम्म नगरेको काम गर्ने आँट र साहस जुटाउन दृढ इच्छाशक्ति, समर्पण र निरन्तरता अत्यन्त आवश्यक हुन्छ। यही निरन्तर प्रयासले नयाँ बानीको निर्माण गर्छ र अन्ततः सफलताको बाटो खोल्छ।नआत्तिनुहोस्। जब हामी कुनै कामलाई निरन्तरताको लक्ष्यरेखामा बाँध्छौँ, तब त्यसबाट एउटा छुट्टै शक्तिको विकास हुन्छ। त्यसपछि त्यही काम गर्न हामीलाई क्रमशः सजिलो हुँदै जान्छ र अन्ततः त्यो हाम्रो बानीमा परिणत हुन्छ।हाम्रो बानी र व्यवहारलाई प्रभाव पार्ने अर्को महत्वपूर्ण तत्व हाम्रो वरपरको वातावरण हो। वातावरणले हाम्रो सोच र सफलतालाई समेत निर्धारण गर्छ। त्यसैले हामीले आफ्नो दिमागमा कस्ता कुराहरू भरिरहेका छौँ भन्ने कुरामा सचेत हुनुपर्छ।हामी अरूको बहकाउमा परेर अनावश्यक कुराहरू सोचिरहेका छौँ कि आफूलाई आवश्यक पर्ने ज्ञानवर्धक कुराहरू सिकिरहेका छौँ? हामी कस्ता सोच र विचार भएका साथीसँग उठबस गर्छौँ? हामी कस्ता मानिसहरूसँग आफ्नो समय बिताउँछौँ—निराशावादी र नकारात्मक सोच भएका मानिसहरूसँग कि ऊर्जावान् र सकारात्मक विचार भएका मानिसहरूसँग?यी कुराहरूले हाम्रो सोच, बानी र भविष्यमा प्रत्यक्ष प्रभाव पार्छन्। त्यसैले आफ्नो वातावरण, संगत र सोचाइप्रति सचेत हुँदै सकारात्मक र ऊर्जावान् वातावरण निर्माण गर्नुपर्छ।यसका साथै हाम्रो शारीरिक र मानसिक अवस्था तथा वरपरको वातावरणले पनि हाम्रो कार्यसम्पादनमा केही हदसम्म प्रभाव पारिरहेको हुन्छ।अब आउँछौँ चक्रवृद्धिको अन्तिम प्रभावतर्फ। यसले हाम्रो सफलताको गतिलाई कसरी तीव्र बनाउँछ भन्ने कुरा यस पुस्तकले स्पष्ट रूपमा बताउँछ।जब हामी आफ्नो कामको सीमामा पुग्छौँ र काम कठिन महसुस हुन थाल्छ, त्यस्तो अवस्थामा अझ बढी मिहिनेत गर्नुपर्ने हुन सक्छ। तर त्यही अतिरिक्त मिहिनेतले हाम्रो परिणामलाई धेरै गुणाले बढाउन सक्छ।वास्तवमा, कठिन परिस्थिति नै आफूलाई प्रमाणित गर्ने र आफ्ना प्रतिस्पर्धीहरूभन्दा अगाडि निस्कने सही समय हो। सहज अवस्थामा सबैले प्रयास गर्छन्, तर कठिन अवस्थामा पनि निरन्तर मेहनत गर्ने व्यक्तिले नै असाधारण परिणाम हासिल गर्न सक्छ।