अमेरिकी लेखक ओरेसन स्वेट मार्डेनद्वारा लिखित ‘व्यक्तित्व विकास’ एक अत्यन्त लोकप्रिय आत्मसुधार, आत्मविश्वास र प्रेरणादायी पुस्तक हो। यस पुस्तकमा व्यक्तित्वका आन्तरिक तथा बाह्य क्षमताको विकास गर्दै जीवनमा कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने विषयलाई विभिन्न व्यावहारिक सूत्रहरूमार्फत प्रस्तुत गरिएको छ।यस पुस्तकका केही मुख्य विशेषताहरू यस प्रकार छन्:सफलताको पहिलो जग आत्मविश्वास हो। आफ्नो क्षमतामाथि शंका नगरी दृढ, सकारात्मक र संकल्पित भएर अघि बढ्नु नै व्यक्तित्व विकासको सुरुवात हो।आफ्नो मस्तिष्कको पानाबाट निराशा र पराजयको भावनालाई सदाका लागि मेटाउनुहोस् र त्यहाँ लेख्नुहोस्— “म आशावादी छु। म सक्षम छु। म विजयी छु। म सफलता प्राप्त गरेरै छोड्छु।”हामी शान्त, भद्र, सज्जन तथा उत्तरदायी बन्नुपर्छ। कार्यकुशलता तथा सफल जीवनका सम्बन्धमा लेखकले जोड दिँदै भन्छन्—आफ्नो जीवनलाई कार्यकुशल, सार्थक र परिपूर्ण बनाउन उत्साह, लगनशीलता र साहस आवश्यक हुन्छ।हजुर केही गर्न वा बन्न चाहनुहुन्छ भने उत्साह, लगनशीलता र साहसको सहारा लिनैपर्छ। आत्मविश्वासी व्यक्ति आशावादी हुन्छन्, किनभने उनीहरू जस्तोसुकै कठिनाइ आए पनि त्यसबाट पार पाउने कुनै न कुनै उपाय अवश्य खोज्छन्।तर कमजोर, संकुचित र आत्मविश्वासको कमी भएका व्यक्ति निराशावादी हुन्छन्। उनीहरू आफ्नै सामु रहेको बाटोसमेत स्पष्ट रूपमा देख्न सक्दैनन् र सधैँ डराइरहन्छन्। अत्यधिक डर, शंका र द्विविधामा अल्झिँदा उनीहरूले आफूअगाडि आएका महत्त्वपूर्ण अवसरहरू पनि गुमाइदिन्छन्।त्यसैले कठिनाइसँग नडराई आत्मविश्वासका साथ अघि बढ्नुहोस्, अवसरलाई पहिचान गर्नुहोस् र आफ्नो क्षमतामा विश्वास राख्दै निरन्तर प्रयास गरिरहनुहोस्।जसरी घरको फोहोर प्रत्येक दिन सफा गर्नुपर्छ, त्यसरी नै मनमा जम्मा हुने नकारात्मक विचार र भावनालाई पनि प्रत्येक दिन हटाउँदै जानुपर्छ। मनमा निरन्तर नयाँ विचार, अगाडि बढ्ने सोच, सकारात्मक दृष्टिकोण र सिर्जनात्मक भावना ल्याइरहनुहोस्। यसो गर्नुभयो भने तपाईंभित्र लुकेर रहेका सकारात्मक शक्तिहरू जागृत हुनेछन् र तपाईंको व्यक्तित्व अझ प्रभावकारी बन्दै जानेछ।पुस्तक छोटो भए पनि प्रेरणादायी र जीवनोपयोगी विचारहरूले भरिपूर्ण छ। एकपटक अवश्य पढ्नुहोस् र यसबाट प्राप्त ज्ञानलाई आफ्नो जीवनमा लागू गर्ने प्रयास गर्नुहोस्।हेल्प टु हेल्प।