सफलता कुनै संयोग होइन। यो व्यक्तिको आन्तरिक क्षमता, सकारात्मक विचार, निरन्तर प्रयास र दृढ संकल्पको परिणाम हो। जीवनमा के बन्ने वा के गर्ने भन्ने विषयमा स्पष्ट लक्ष्य निर्धारण गरी आफ्नो सम्पूर्ण ध्यान र ऊर्जा एउटै लक्ष्यतर्फ केन्द्रित गर्न आवश्यक हुन्छ।बाटोमा जति नै कठिनाइ वा असफलता आए पनि हार नमान्ने दृढ इच्छाशक्ति, उपलब्ध अवसरहरूलाई पहिचान गरी सही समयमा तिनको सदुपयोग गर्ने क्षमता, व्यक्तिगत इमानदारी, अनुशासन र असल चरित्रजस्ता गुणहरूले सफलताको मार्ग निर्माण गर्छन्।यिनै विषयहरूलाई आधार बनाएर लेखक ओरेसन स्वेट मार्डेनले मानिस कसरी सफल बन्न सक्छ भन्ने विषयमा ‘सफल कसरी हुने’ पुस्तक लेखेका छन्।यस पुस्तकमा अझ केही महत्त्वपूर्ण कुरा प्रस्तुत गर्दै लेखकले भन्छन्—चाहेको कुरा प्राप्त गर्न मानिसले आफ्नो रुचि र उद्देश्यसँग मिल्ने संगत रोज्नुपर्छ। जुवाडीसँग जुवाडी, कलाकारसँग कलाकार, सङ्गीतकारसँग सङ्गीतकार र धार्मिक व्यक्तिसँग धार्मिक व्यक्तिको संगत हुन्छ। यस्ता व्यक्तिहरूलाई आफ्नो स्वभाव र रुचिअनुसारका मानिस खोज्न धेरै समय लाग्दैन, र अन्ततः आफूले चाहेको संगत प्राप्त भइहाल्छ।त्यस्तै, सफलता पनि सफल व्यक्तिहरूको संगत र अनुकरणबाट सिक्न सकिन्छ। विजय प्राप्त गर्ने क्रममा लड्नु ठूलो अपराध होइन; लडेपछि उठ्न नसक्नु नै सबैभन्दा ठूलो गल्ती हो। असफलतापछि पनि निरन्तर प्रयास गरिरहने र सफलताप्रति अटल विश्वास राख्ने व्यक्तिका लागि असफलता अन्तिम परिणाम होइन, सफलतातर्फ जाने एउटा सिँढी हो।महान् पुरुषहरूले असफलतालाई सफलताको सिँढीका रूपमा लिएका थिए।हृदयसँग कुराकानी पनि जीवन परिवर्तनको एउटा महत्त्वपूर्ण माध्यम हो। हामी आफ्नो मनसँग कुरा गर्न सक्छौँ, र अनुभवबाट मनले हाम्रो कुरा सुन्छ र स्वीकार गर्छ भन्ने कुरा सिद्ध भइसकेको छ। यदि हामीले मनमनै मात्र नभई आफ्ना विचारलाई प्रकट शब्दमा व्यक्त गर्छौँ भने त्यसको मनमा अझ गहिरो प्रभाव पर्छ।साँच्चै भन्ने हो भने, प्रकट शब्दमा हाम्रो चरित्र र जीवन निर्माण गर्ने असीम शक्ति हुन्छ। त्यसैले हामीले सधैँ सकारात्मक र उत्साहपूर्ण शब्द बोल्नुपर्छ, किनकि हाम्रा शब्दहरूले हाम्रो सोच, व्यवहार र जीवनमा गहिरो प्रभाव पार्छन्।केवल चाहँदैमा समृद्धि प्राप्त हुँदैन। समृद्धिको बारेमा सोच्दैमा मात्र पनि सफलता हात पर्दैन। चाहना र सोचाइ लक्ष्यतर्फ अघि बढ्ने पहिलो पाइला मात्र हुन्। सोच्नुका साथै त्यसलाई प्राप्त गर्न निरन्तर प्रयत्न पनि गर्नुपर्छ, तब मात्र सफलता हासिल गर्न सकिन्छ।जीवनभर वैभवको सपना बोकेर पनि मानिस झुपडीमै सुत्नुपर्ने अवस्था आउन सक्छ, यदि उसले आफ्नो सपनालाई साकार बनाउन आवश्यक प्रयास गरेन भने। अर्थात् सफलताका लागि परिश्रमी, व्यावहारिक र कर्मशील बन्नुपर्छ। आफ्ना आदर्श र सपनालाई सत्यमा परिणत गर्न त्यसका लागि निरन्तर परिश्रम र लगनशीलताका साथ जुट्नुपर्छ।यी र यस्तै प्रेरणादायी तथा जीवनोपयोगी सन्देशहरूका लागि ‘सफल कसरी हुने’ पुस्तक पढ्नुहोस्।हेल्प टु हेल्प। धन्यवाद।