व्यक्तित्व विकास आजको अनिवार्य आवश्यकता हो।आजको समयमा सफल जीवन जिउन र विभिन्न चुनौतीहरूको सामना गर्न केवल शैक्षिक योग्यता मात्र पर्याप्त हुँदैन। तसर्थ, जीवनमा आइपर्ने बाधा र अवसरहरूलाई उचित रूपमा सामना गर्दै सफल जीवन जिउन हामीले आफ्नो व्यक्तित्वको निरन्तर विकास गर्दै अघि बढ्नुपर्छ।व्यक्तित्व विकास एउटा व्यापक अवधारणा हो। यसले हाम्रो सोच, व्यवहार, बानी, क्षमता र दैनिक जीवनका क्रियाकलापलाई व्यवस्थित तथा सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ।व्यक्तित्व विकास भन्नासाथ धेरै मानिसले बाहिरी स्वरूप वा व्यक्तित्वलाई मात्र बुझ्ने गर्छन्। तर बाहिरी आकर्षण व्यक्तित्वको एउटा पक्ष मात्र हो। यसका अतिरिक्त अन्य गुणहरूको महत्त्वलाई पनि कम आँक्न मिल्दैन।असल सोच, सदाचार, इमानदारी, राम्रो व्यवहार, समय व्यवस्थापनको सीप, प्रभावकारी कुराकानी, आत्मविश्वास, अनुशासन तथा प्रशंसनीय आचरणजस्ता गुणहरू पनि विकसित व्यक्तित्वका आवश्यक पक्ष हुन्। जुनसुकै क्षेत्रमा सफल हुनका लागि यस्ता गुणहरूको विकास गर्नु अत्यन्त आवश्यक हुन्छ।केही व्यक्तिहरू संकुचित सोच भएका हुन्छन्। उनीहरू हरेक कुरालाई शङ्काको दृष्टिले हेर्छन् र अरूको अनुभवबाट सिक्ने प्रयास पनि गर्दैनन्। उनीहरू एकतर्फी तथा पूर्वाग्रही भएर सोच्ने गर्छन्। यस्ता व्यक्तिहरूले जीवनमा केही सफलता हासिल गर्न त सक्छन्, तर ठूला उपलब्धि प्राप्त गर्न कठिन हुन्छ।प्रायः मानिसहरूले सफलतालाई सम्पत्ति, शक्ति र प्रसिद्धिसँग जोडेर हेर्ने गर्छन्। त्यसैले धेरै मानिसहरू यिनै कुराबाट प्रेरित भएर आफ्ना क्रियाकलापमा लागिरहेका हुन्छन्। तर वास्तविक सफलता केवल सम्पत्ति, शक्ति वा प्रसिद्धिमा मात्र सीमित हुँदैन।जीवनमा कुनै उद्देश्य राखेर त्यसलाई हासिल गर्न निरन्तर प्रयास गर्नु, आफ्नो वर्तमान अवस्थालाई यथार्थ रूपमा स्वीकार गर्नु र आवश्यक परिवर्तनका लागि तयार रहनु नै व्यक्तित्व विकास तथा सफल जीवनको महत्त्वपूर्ण आधार हो। आफ्नो वर्तमान अवस्थालाई स्वीकार नगरी त्यसैमा सीमित रहनु आफैँले दुःख र निराशालाई निम्त्याउनु हो।जीवनको महत्त्वपूर्ण बाटो भनेको आफूले सही रूपमा छनोट गरेको मार्गमा निरन्तर अघि बढ्नु हो। त्यसका लागि आफ्नो व्यक्तित्वको विकास गर्दै आफ्नो दिमागमा सकारात्मक सोच र स्पष्ट लक्ष्य स्थापित गर्नुपर्छ। आफैँसँग सकारात्मक र प्रेरणादायी संवाद गर्नुपर्छ, जसले आफूभित्र लुकेका उत्कृष्ट इच्छा, क्षमता र चाहनाहरूलाई प्रकट हुन मद्दत गर्छ।आफूले गर्न चाहेको काम र हासिल गर्न खोजेको लक्ष्यलाई कसरी प्राप्त गर्ने भन्ने कुराको स्पष्ट चित्र मनमा बनाउन सक्नुपर्छ। स्पष्ट लक्ष्य, सकारात्मक सोच र निरन्तर प्रयासले व्यक्तित्व विकासको यात्रालाई सहज बनाउँछ।‘व्यक्तित्व विकासका वैज्ञानिक प्रस्तुति’भित्र यस्तै प्रेरणादायक विषयहरू समेटिएका ५६ वटा शीर्षकमार्फत हामीभित्रको आत्मविश्वास, क्षमता र आफ्नोपनलाई जागृत गराउने प्रयास गरिएको छ।पढेर लाभ लिनुहोस्।धन्यवाद।